दुर्घटनामा परेर एक जनाको मृत्यु, ५ घाइते

तु खबर संवाददाता
२०८० जेष्ठ १, सोमबार १६:२०

गोरखा । गोरखामा गएराति भएको जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका–६, घौचुरमा बा०१–०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परी गण्डकी गाउँपालिका–६ निवासी ७८ वर्षीया किरमाया आलेको मृत्यु भएको हो । काठमाडौंबाट घौचुरतर्फ जाँदै गरेको बलेरो जिप कच्ची सडकबाट खस्दा सख्त घाइते भएकी आलेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ७७ वर्षीया कनमाया आले, ७८ वर्षीय धनबहादुर आले, ८१ वर्षीय तीर्थबहादुर आले, ७२ वर्षीय पूर्णबहादुर थापा र ६५ वर्षीया गङ्गामाया थापा रहेका छन् । घाइतेहरूकोे भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनापछि जिपका चालक ४३ वर्षीय केहरसिं थापालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।