हेटौंडामा स्कुल भ्यान दुर्घटना, चार जना घाइते

तु खबर संवाददाता
२०८० बैशाख ३१, आईतवार १८:०८

मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ आइतबार दिउँसो स्कुल भ्यान दुर्घ६ना हुँदा चार जना घाइते भएका छन् ।

हेटौंडा–११ स्थितमा रहेको हेटौंडा एकेडेमी बोर्डिङ स्कुलको बा ६ च ८०५७ नम्वरको भ्यान बच्चा बोकी सहिद स्मारकबाट डाङ्डुङ्गे तर्फ जाने क्रममा स्थानीय शान्ति चोकमा भ्यानको ह्याण्डिल लक भई बिजुलिको पोलमा ठोकिँदा चार जना बालबालिका घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा हेटौंडा–११, डाङ्डुङ्गे बस्ने वर्ष ५ की शुसिला घर्ति मगर, वर्ष ६ की रिम्किशा राना मगर, वर्ष ६ को सन्जिब थापा र वर्ष ७ को उमेश गजुरेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उनीहरुको अवस्थामा सामान्य रहेको र उपचारको लागि स्थानीय चुरेहिल अस्पतालमा लगिएको उनले बताए । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।