मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जना घाइते, अवस्था गम्भीर
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ र ५ को सिमाना सिमातपुरस्थित आज दिउँसो सावरी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
दिउँसो २ बजेकोमा समयमा हेटौंडा–फापरबारी सडकखण्ड अन्तरगत पर्ने उक्त स्थानमा काठमाडौंबाट राईगाँउतर्फ आउँदै गरेको बा ५ ख २९४ नम्वरको बस र विपरित दिशातर्फ जाँदै गरेको ना १६ प ४६६३ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका–९, भालुखोला बस्ने ३३ वर्षीय सुकलाल स्याङतान र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने ३४ वर्षीय सन्त बहादुर न्यासुर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, घाइते दुबै जनाको अवस्थामा गम्भीर रहेको र उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको छ ।
प्रहरीले मोटरसाइकल, बस र बस चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
