दुर्घटनामा परेर तीन जनाको मृत्यु, पाँच घाइते
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्ग सडकखण्डमा बुधबार बिहान सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
डुम्रे तर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर ८ जना घाइते भएका थिए । तीमध्ये ३ जनाको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा आयुस भुजेल, चेत बहादुर घर्ती र सन बहादुर भुजेल रहेका छन् ।
अन्य ५ जना घाईतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा आयुसा भुजेल, जस्मिन भुजेल, ईश्वर भुजेल, समिर भुजेल र सन्तोष भुजेल रहेका छन् ।
यसैबीच दुर्घटनाको विषयलाई लिएर पूर्ण रुपमा बन्द रहेको राजमार्ग अहिले दिउँसो सुचारुमा आएको प्रहरीले जनाइएको छ ।
