मजदुरको हकहितका लागि नेपाल परिवार दल सदैव लागिरहने छः ढकाल

तु खबर संवाददाता
२०८० बैशाख १८, सोमबार ०८:५५

हेटौंडा । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले मजदुर वर्गका समस्यालाई समाधान गर्दै उनीहरुको हकहित तथा सम्वर्द्धन गर्न आफुहरु लागिरहने उल्लेख गरेका छन् ।

प्रतिनिधि सभा सदस्यसमेत रहेका ढकालले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देशमार्फत् नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभ–कामना समेत व्यक्त गरेका छन् ।

उनले अहिले पनि नेपालका श्रमजीवी वर्गले अनेक समस्याहरुलाई बेहोरिरहन परेको उल्लेख गर्दै उनीहरुको समस्यालाई समाधान गरेर मजदुर वर्गको हकहितको सम्वर्द्धन गर्न नेपाल परिवार दल सदैव जिम्मेवार भएर लागिरहने बताए ।

श्रमिकहरुका लागि अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, क्षमता बमोजिम रोजगारीको ग्यारेण्टी, सामाजिक सुरक्षा लगायतका अधिकार प्राप्त गरी अघि बढ्न सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्ने ढकालले उल्लेख गरे ।

राष्ट्र निर्माणमा मजदुर वर्गले पुर्याएको योगदान स्मरण गर्दै उनले राज्यपक्षबाट मजदुर वर्गको योगदानको उच्च कदर हुनुपर्ने उल्लेख गरे ।