परिवार दलका अध्यक्ष ढकालले दिए ‘इद उल फित्र’ को शुभकामना

हेटौंडा । नेपाल परिवार दलका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ‘इद उल फित्र’ को उपलक्ष्यमा मुस्लिम समुदायलाई शुभकामना दिएका छन् ।
ढकालले शुभकामना सन्देश जारी गर्दै ‘इद उल फित्र’ ले सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवम् समृद्धिको कामना गरेका छन् ।
उनले ‘इद उल फित्र’ पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुताको अभिवृद्धि गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।
‘नेपाली समाजको एक अभिन्न अंगको रुपमा रहँदै आएको मुस्लिम समुदायले नेपालको शान्ति र विकासमा गर्दै आएको योगदानको नेपाल परिवार दल उच्च कदर गर्दछ’ ढकालले जारी गरेको सन्देशमा उल्लेख छ ।
यो पर्वको अवसरमा मुस्लिम समुदायका धर्मावलम्बीहरु एक महिना रोजा (ब्रत) बस्ने प्रचलन छ । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको धार्मिक विश्वास छ । चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात् व्रत बसिन्छ ।