आजबाट माओवादीका मन्त्रीहरुलाई पेरिसडाँडामा भेट्ने

तु खबर संवाददाता
२०८० बैशाख १, शुक्रबार ०८:३६

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आजबाट हरेक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन् ।

माओवादी केन्द्रले २०८० साल बैशाख १ गतेदेखि प्रधानमन्त्रीसँगै माओवादीबाट मन्त्री बनेकाहरुलाई केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था मिलाउने निर्णय यसअघि गरेको थियो । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड आज बिहानै केन्द्रीय कार्यालय पुगेका हुन् ।

माओवादी मन्त्रीहरुसँग भने अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेट्ने समय निर्धारण गरिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

कार्यालय समयमा मन्त्रीहरुलाई काममा डिस्टर्ब नहोस् र मन्त्रीहरुले सरकारकै काममा ध्यान दिउन् भनेर अपराह्न ४ बजे पछिको समय पार्टी कार्यालयमा दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

सचिव ढकालका अनुसार हेल्प डेस्कमा खटिने कार्यालयका कर्मचारीले भेट्न खोज्नुको कारणसहितको विवरण टिपेर भेटघाटमा सहजीकरण गरिदिनेछन् ।