एसईईका विद्यार्थी चढेको जिप दुर्घटना, एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र २७, सोमबार ०९:४२
सांकेतिक तस्वीर

धनगढी । कैलालीमा एसईईका विद्यार्थी चढेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तरगत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र ०१००१ ज १४२३ को जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चुरे गाउँपालिका–६ बस्ने १८ वर्षीय भानु ठकुन्ना रहेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका ठगुन्नालाई उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

उनी अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रमा एसईई परीक्षा दिएर घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा परेर जिपमा सवार चुुरेकै १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीया सरस्वती धामी पनि घाइते भएका छन् । उनीहरुको अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ । उनीहरु पनि एसईई दिइएर घर फर्किरहेका थिए ।जिप चालक चुरे गाउँपालिका बस्ने १९ वर्षीय नरसिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।