५ घरमा आगलागी हुँदा १७ लाखभन्दा बढीको क्षति
रौतहट । रौतहटको राजपुर नगरपालिका ९ बैरिया गाउँमा शुक्रवार अपराह्न ५ वटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
स्थानीय रुपनरायन साह कानुको घरबाट सुरु भएको आगलागीबाट गणेश साह कानु, उधो साह कानु, महेन्द्र साह कानु, राजेन्द्र साह कानुको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आगलागीमा अन्न, लत्ताकपडा धान, जलेर १७ लाख ३४ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी हुँदा गौरबाट दमकल आउँदा ढिलो भएकाले समयमा नियन्त्रण हुन नसक्दा उक्त धनमालको क्षति भएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र गाउँले मिलेर झन्डै ४ घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
