भरुवा बन्दुक पड्किँदा बालिकाको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र २२, बुधबार ०८:०८
file photo

सल्यान । सल्यानको कालीमाटी गाउँपालिकास्थित एक घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय बेलबहादुर आलेको घरमा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार, आलेको घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किँदा छर्राले लागेर कालिमाटी गाउँपालिका ७ स्वायनवासकी ९ वर्षीया पुजा घर्तीको मृत्यु भएको हो ।

यस्तै बन्दुकको छर्रा लागेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा ३ वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले र ८ वर्षीय तेजेन्द्र आले रहेका छन् ।

घाइते भएकी यमुना आलेलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ भने अन्य दुई जनालाई नेपालगन्जमा उपचार गरिएको छ ।