दुर्घटनामा हेटौंडाका पाण्डेको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र १९, आईतवार १७:४४

काठमाडौं । काठमाडौंको बल्खुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सानेपाबाट कलङ्कीतिर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेशमा दर्ता रहेको ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्कुटर चालक मकवानपुरस्थित हेटौंडा घर भएका ३४ वर्षीय भूपति पाण्डे रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, मृतक पाण्डे ब्याच नम्बर–३५ का शाखा अधिकृत हुन् ।

ट्रक चालक अर्जुन ढुङ्गानालाई प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो । उक्त घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।