कोरोना परीक्षण बिना नेपाल प्रवेशमा रोक

बैतडी । कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षण बिना नेपाल भित्रिन रोक लगाइएको छ ।
भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा संक्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीका अनुसार, भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा पर्न थालेपछि सीमाबाट भित्रिनेलाई अनिवार्य मास्क र कोरोना परीक्षण कार्य अनिवार्य गरिएको हो ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ ।