मकवानपुरको एक घरमा आगलागी
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्वर १ कुन्छाल फाटमा शुक्रबार दिउँसो एक घरमा आगलागी भएको छ । दिउँसो ३ः१५ बजेको समयमा स्थानीय २६ वर्षीय दिपेन्द्र गोपालीको पुरानो डिजाईनको ४ (चार) कोठाको कच्चि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, गोपालीको घरमा बिजुलीको तार सट भई आगलागी भएको हो । उक्त आगो स्थानीय र प्रहरीको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको थियो ।
आगलागीबाट घर पूर्ण रुपमा क्षति हुनुका साथै अन्नपात, भाडाकुडा जलेर नष्ट हुँदा दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । आगोलागीमा परेर मानवीय क्षति भने भएको छैन ।
