बागमती प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

तु खबर संवाददाता
२०७९ चैत्र १०, शुक्रबार १७:०४

मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले शुक्रबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

शुक्रबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

आज बसेको प्रदेश सभा बैठकमा ९१ जना प्रदेश सांसदहरु उपस्थित रहेका थिए । तीमध्ये मुख्यमन्त्री जम्मकट्टेलले प्रस्तुत गरेको प्रस्तावको पक्षमा ६७ मत, विपक्षमा १७ मत र तटस्थमा ७ जनाले मतदान गरेका थिए ।

उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ४ वटा दलका सांसदहरुले समर्थन गरेका थिए । मुख्यमन्त्री जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

उनले यसअघि गत माघ ३ गते विश्वासको मत लिएका थिए । त्यतिखेर उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदहरुले समर्थन गरेका थिए ।

राप्रपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेका थिए । संवैधानिक व्यवस्था अनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र मुख्यमन्त्रीले सांसदबाट विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्था अनुरुप उनले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभामा ११० जना सांसद रहेका छन् । जसमा कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादीका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।