बोलेरोको ठक्करबाट गम्भीर घाइते हेटौंडाका बालकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ ओमनगरमा बोलेरो जिपले ठक्कर दिँदा गम्भीर घाइते बालकको मृत्यु भएको छ । आइतबार साँझ कमाने मनकामनाचोकबाट ओमनगर तर्फ आएको बा १२ च ९७८६ नम्वरको बोलेरोले ठक्कर दिँदा गम्भीर घाइते भएका १४ वर्षीय अनिल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आईतबार साँझ सामान किनेर साइकलमा घर जाँदै गरेका अनिललाई तीब्र गतिमा आएको बोलेरोले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी हेटौंडा अस्पताल पठाइएको थियो । हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि आईतबार नै भरतपुर पठाइएको उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त बोलेरोले स्थानीय जित बहादुर सारु मगरको घर अगाडि श्रेष्ठ र पार्किङ गरेर राखेको बागमती प्रदेश ०३–००१ प ६२६५ नम्बरको स्कुटरलाई समेत ठक्कर दिएको थियो । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।