प्रावि तहमा १० हजारभन्दा बढी शिक्षक सिफारिस
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि छनोट भएका १० हजार ३५३ शिक्षकहरुको एकमुष्ट सिफारिस गरेको छ ।
आयोगको अनुसार, शिक्षक संख्या माग गरिएको पद संख्यामा २ हजार ९४४ पद रिक्त भएका छन् । माग गरिए बमोजिम शिक्षक पदमा उम्मदवार छनोट हुन नसकेको हो ।
आयोगले प्रावि तह तृतीय श्रेणी शिक्षक पदका लागि १३ हजार २९७ आवेदन खुला गरेको थियो । सोही अनुसार २०७८ चैत्र १० गते र २०७९ असार १३ गते लिइएको खुला प्रतियोगितात्मक लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको विभिन्न समयमा अन्तर्वार्ता आयोगले लिएको थियो ।
उक्त अन्तरवार्तामा उत्तीर्ण उम्मेदवारलाई गत शनिवार स्थाइ नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरिएको आयोगले जनाएको छ ।
