सिन्धुली दुर्घटना अपडेट : मृतकमध्ये तीन जनाको सनाखत
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी मृत्यु भएकामध्ये तीन जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएकामध्ये तीन जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सनाखत हुनेहरुमा ओखलढुङगाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगर रहेका छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन ।
ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बसको ब्रेक फेल भइ अन्यन्त्रित हुँदा भित्तामा ठोक्किएर दुर्घटनाआज बिहान दुर्घटना भएको थियो । बसमा चालकसहित ३६ यात्रु सवार थिए ।
प्रहरीका अनुसार, सोह्र घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ । तीमध्ये ८ जनालाई हेलिकप्टरमा तथा ८ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं लगिएको हो । सामान्य घाइते १४ जनाको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ ।
