आगलागीमा परेर बालिकाको मृत्यु
रौतहट । रौतहटको राजदेवी नगरपालिकास्थित आगलागीमा परेर ६ महिने बालिकाको मृत्यु भएको छ । मंगलबार साँझ राजदेवी नगरपालिका–४ बसन्तपुर (गडहिया) का भिखर राउतको खरको छाना भएको घरमा आगलागी हुँदा सुतिरहेकी उनको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
राउतको घरबाट सल्किएको आगोले छिमेकीद्वय रामकिसुन साह र सुजय साहको घर जलेर नष्ट भएको थियो । आगलागीबाट राउतको घर तथा अन्न लताकपडा गरी ७५ हजार तथा छिमेकीहरूको ५०–५० हजार गरी कुल एक लाख ७५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आगलागीको कारण खुल्न सकेको छैन । घटना लगतै गौर नगरपालिकाबाट गएको वरुण यन्त्र, गाउँले तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
