दुई जना मृत अवस्थामा फेला
काठमाडौं । अर्घाखाँची र पर्सामा गरी दुई जना मृत अवस्थामा फेला परेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ मा प्युठान नौबेनीका ५५ वर्षीय भुपाल पुन शुक्रबार आफ्नै कोठामा मृत फेला परेका छन् ।
निर्माणको काम गर्दै आएका पुन मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । यस्तै, पर्सामा पनि एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको जिराभवानी गाउँपालिका–१ बलवा बस्ने ६० वर्षीय नवि मियाँ स्थानीय चमरी खोलामा मृत अवस्थामा फेला परेका हुन् ।
मियाँ बुधबारदेखि घर परिवारको सम्पर्कमा थिएनन् । प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव खोलामा फेला पारेको थियो । दुबै घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
