‘निकुञ्ज र स्थानीय तहले मिलेर काम गर्नुपर्छ’

तु खबर संवाददाता
२०७९ फाल्गुन १९,शुक्रबार १०:०५

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राष्ट्रिय निकुञ्जले स्थानीय तहसँग मिलेर काम गर्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति मकवानपुर एवम् डिभिजन वन कार्यालय मकवानपुर र राप्तीले बिहीबार हेटौंडामा आयोजना गरेको मानव वन्यजन्तु द्वन्द्व एवम् वन डँढेलो न्यूनीकरण सम्बन्धि अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

सो क्रममा उनले निकुञ्ज र सर्वसाधारणको बिचमा राम्रो सम्बन्ध हुन नसक्नु दुःखद् भएको धारणा व्यक्त गरे । जनप्रतिनिधिको अनुरोधलाई निकुञ्जका कर्मचारीले अटेर गर्ने गरेको गुनासो आएको भन्दै उनले स्थानीय तहसँग समन्वय गरी काम गर्न अनुरोध गरे ।

वन फँडानी, आहाराको अभाव लगायतका कारणले वन्यजन्तु बाँच्नकै लागि गाउँवस्तीमा छिर्ने गरेको उनले बताए । उनले गर्मी मौसम बढेसँगै डँडेलोको समस्या सुरु हुने भन्दै यसका लागि जनचेतना आवश्यक रहेको बताए ।

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु), समन्वय समितिका उपप्रमुख सानुकाजी लुइँटेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले मनतव्य व्यक्त गरेका थिए ।