आजबाट हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा यातायात संचालनमा रोक

तु खबर संवाददाता
२०७९ फाल्गुन १८, बिहीबार १०:५१
file-photo

मकवानपुर । हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा आज फागुन १८ गतेदेखि आगामी चैत्र १० गतेसम्म यातायात संचालनमा रोक लगाइएको छ । ललितपुरको बागमती र भट्टे डाँडामा सडकको मर्म सम्हारको काम भइरहेकाले उक्त सडकखण्डमा दुबैतर्फको यातायात संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले कान्तिलोकपथ रुट हुँदै हेटौंडा–काठमाडौं चल्ने यातायातलाई वैकल्पिक मार्गबाट संचालन हुने जानकारी गराए ।

केही दिनअघि यातायात व्यवस्था कार्यालय काठमाडौं एवम् निर्माण व्यवसायीहरु र सरोकारसँग सम्बन्धित निकाय र स्थानीय प्रशासनको संयुक्त बैठकको निर्णय अनुसार, आजबाट कान्तिलोकपथमा यातायात बन्द गरी वैकल्पिक मार्गबाट यातायात संचालनमा ल्याइएको उनले बताए ।

हेटौंडाबाट काठमाडौं जान हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौंडा आउन थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी रूट हुँदै एकतर्फी यातायात संचालन हुने उनले बताए ।

यसअघि फागुन १ गतेदेखि हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं र हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल हुँदै फर्पिङ–काठमाडौं जोड्ने सडक मर्मतका लागि दुई महिनाका लागि बन्द गरिएको छ ।

हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दुरीको यी दुई सडक बन्द भएपछि कान्तिलोकपथलाई वैकल्पिक मार्गको रुपमा यातायात संचालन गर्न भनिएको थियो ।