आगोमा जलेर वृद्धको मृत्यु

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको आगोमा जलेर मृत्यु भएको छ । गएराति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रहरीका अनुसार, जस्तापाताको छाप्रोमा बस्दै आएका उनको छाप्रोमा अचानक आगलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको हो । चुलोमा बलेको आगो निभाउन बिर्सिदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
आगलागीबाट छाप्रो नजिकै रहेको सात भेँडा, तीन भैँसी, छ रागासमेत घाइते भएका छन् । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।