सर्वोच्चद्वारा सन्दीपलाई विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार
काठमाडौं । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेका सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेलाई विदेश गएर खेल्न पाउने अनुमति अस्वीकार गरेको हो । न्यायाधीश खतिवडाको एकल इजलासले लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा नै विचाराधीन रहेकोले दुबै मुद्दालाई लगाउमा राखेर सुनुवाइका लागि आइतबार संयुक्त इजलासमा पेसी तोक्न आदेश दिएको हो ।
लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । तर, यसअघि नै सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सरकार सर्वोच्च अदालत पुगेको थियो ।
गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपसँग २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गर्ने आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म विदेश जान रोक लगाउने सहितका सर्तहरू राखेर धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यस लगत्तै पुस २९ गते २० लाख रुपैयाँ धरौटी राखेर लामिछाने रिहा भएका थिए ।
आजको सुनुवाइमा सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ताद्वय मुरारी प्रसाद सापकोटा र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए ।