मकवानपुरमा जंगली हात्ती नियन्त्रण गर्न सांसद बर्तौलाको माग
मकवानपुर । नेकपा एमालेका सांसद महेश बर्तौलाले मकवानपुरको मनहरीलगायत विभिन्न स्थानमा यमगज नामको हात्तीले स्थानीयलाई दु:ख दिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।
सांसद बर्तौलाले शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो कुराको माग गरेका हुन् । उनले हात्तीको आक्रमणबाट गत सोमबार मकवानपुरको मनहरी गाउँपालिका–४ बस्ने ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको जानकारी गराउँदै ती हात्तीको नियन्त्रणमा सरकारको ध्यानाकर्षण गरेका हुन् ।
उनले भने, ‘हात्तीले स्थानीय बालीमा नोक्सानी पुर्याउँदै आएको छ । हात्तीको आक्रमणमा पर्ने डरमा विद्यार्थीहरु विद्यालय जान सकिरहेका छैनन् । तर, राष्ट्रिय निकुञ्ज र वनका कर्मचारीहरुले हात्री नियन्त्रणका लागि प्रयाप्त भूमिका निर्वाह रहेको छैन ।’
बर्तौलाले प्रतिनिधि सभाको बैठकमा भनेका छन् । ‘अविलम्बन हात्ती नियन्त्रण गर्न र मृतकलाई क्षतिपूर्तिको माग गर्दछु ।’
मकवानपुरमा गएराति मात्रै बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । घाइते उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको हो ।
जिल्लामा फागुन महिनामात्रै जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, बुधबार राति हेटौंडा–१८, मानेडाँडामा पनि हात्तीको आक्रमणमा परी ३० वर्षीय देव वाईबा घाइते भएका थिए ।
