‘सवारी दुर्घटना र यातायात व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रम

तु खबर संवाददाता
२०७९ फाल्गुन ५, शुक्रबार १६:५४

मकवानपुर । बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाले आफ्नो वार्षिकोत्सवको अवसरमा शुक्रबार ‘सवारी दुर्घटना र यातायात व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

रेडियोले सप्ताहव्यपी कार्यक्रमको पाचौं दिन हेटौंडा–१५ स्थित रातोमाटेमा ‘सवारी दुर्घटना र यातायात व्यवस्थापन’ विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको सहयोगत तथा जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा भएको कार्यक्रमका हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

सो क्रममा प्रमुख अतिथि मोक्तानले सवारीसाधन चलाउँदा आँफै सचेत भएर चलाउनुपर्ने बताए । उनले दुर्घटना हुनुमा राज्यलाई आरोप लगाउने काम भइरहेको भन्दै व्यक्ति आफै सचेत हुन जरुरी रहेको बताए ।

त्यसैगरी, जिल्ला ट्राफिक कार्यालयका वरिष्ठ नायव निरीक्षक सन्तोष पोखरलेलले सवारी दुर्घटना हुनुका कारण साथसाथै त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा प्रष्ट पारेका थिए ।

रेडियो थाहासञ्चार हेटौंडाका स्टेशन म्यानेजर गोकुल अधिकारीका सभाध्यक्षतामा भएको ‘सवारी दुर्घटना र यातायात व्यवस्थापन’ विषयक अन्तक्रिया कार्यक्रममा जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जानुका दवाडी , व्यवस्थापक साबित्री रुम्बा लगायतले मन्तव्य राखेका थिए ।

रेडियोले १५ वर्ष पुरा गरी १६ वर्षमा प्रवेश गरेको अवसरमा फागुन १ गतेबाट साताव्यापी कार्यक्रम गरिरहेको छ । रेडियोले यसअघि कार्यक्रमको पहिलो दिन फागुन १ गते सोमवार रेडियो परिसर सरसफाई, फागुन २ गते मंगलबार स्रोता मिलन कार्यक्रम , फागुन ३ गते बुधबार ‘सम्झनामा रुपचन्द्र विष्ट’ विषयक अन्तरक्रिया कार्यक्रम र चौथो दिन फागुन ४ गते बिहीबार रक्तदान कार्यक्रम गरेको थियो ।

यसैगरी कार्यक्रमको छैठौं दिन फागुन ६ गते भोली मकवानपुरे सञ्चारकर्मीबीच घैंटो फुटाई खेल प्रतियोगिता हुनेछ भने अन्तिम दिन फागुन ७ गते पुरस्कार तथा प्रमाणपत्र वितरण, थाहा वर्ष सम्मान लगायत विविध कार्यक्रम गर्दै १६ औं वार्षिक उत्सब समापन समारोह हुने रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीले जानकारी दिए ।