सुदूरपश्चिमका मुख्यमन्त्रीले आज शपथ लिँदै
धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार (आज) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।
मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम दिउँसो गर्ने भनिएपनि समय निर्धारण हुन बाँकी रहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुंगानाले जानकारी दिए । नवनियुक्त मुख्यमन्त्रीसँगको परामर्शपछि समय निर्धारण गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
पुस २७ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाए लगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री शाहले शुक्रबार सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।
