हेटौंडामा बाघको आक्रमणबाट महिला घाइते

मकवानपुर । हेटौंडामा बाघको आक्रमणबाट बुधबार एक जना महिला घाइते भएकी छन् । बाघको आक्रमणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीस्थित मानेडाँडा बस्ने अन्दाजी ५६ वर्षीया मैती बयलकोटी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, बुधबार अपरान्ह ४ बजे घाँस काट्न जाँदै गर्दा सुकौरा जाने बाटोमा बाघले बयलकोटीलाई आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट गाला, ओठ र ढाडमा चोट लागेको उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोे प्रहरी नायव उपरीक्षक कार्कीले बताए । आक्रमण गर्ने बाघ जंगलतर्फ गएको छ । बन कार्यालयबाट घटनाबारे थप बुझ्न त्यसतर्फ गएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । गाउँमा बाघले पशुचौपाया मार्ने र मानिसलाई समेत आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित छन् ।