आजबाट कैलाशको भार्ताबाट काठमाडौं सिधा बस सेवा सुरु
मकवानपुर । कैलाश गाउँपालिकाको भार्ता–कालिकाटार–नामटार हुँदै काठमाडौंसम्म आज शुक्रबारदेखि बस सेवा संचालनमा आएको छ ।
गाउँपालिकाको समन्वयमा नारायणी यातायात व्यवसायी संघले एउटा बस भार्ताबाट काठमाडौंतर्फ जाने र अर्को बस काठमाडौंबाट भार्ताका लागि छुट्ने गरी संचालनमा आएको अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए ।
कैलाशको तल्लो बेल्टका ६ वटा वडाबासीले अहिलेसम्म काठमाडौं जानका लागि सिधा बस सेवाको सुविधा पाएका थिएनन् ।
बस संचालनमा आएपछि आफ्नै घरआँगनबाट काठमाडौंसम्म जानका लागि त्यहाँका नागरिकले सुविधा प्राप्त गरेको मुक्तानले बताए । बस सेवा संचालनमा आएपछि करिब १३ हजार स्थानीय लाभान्वित हुने उनले जानकारी दिए ।
‘बस सेवा सञ्चालनमा आएसँगै त्यहाँको कृषि उत्पादन काठमाडौंसम्म सहज रुपमा पु¥याउन सकिने भएको छ ।’ अध्यक्ष मुक्तानले भने– ‘यसबाट गाउँको आर्थिक कृयाकलापमा सकारात्मक प्रभाव पर्नेछ ।’