हेलिकप्टर पाइलटलाई कुटेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । स्याङ्जाको वालिङमा प्रभूको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम ब। राना तथा खेल आयोजक यामबहादुर गुरूङ, सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका उनीहरुमाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दामा दुई दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
माघ ५ गते स्याङ्जाको वालिङमा फुटबल खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि पाइलट र यात्रुमाथि हातपात गरिएको थियो ।
वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए । उनीहरुले नै मैदानमा हेलिकप्टर उतार्न दबाव दिएपछि पाइलट रानेश डंगोलले ल्याण्ड गरेका थिए ।
वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भइरहेको थियो ।