सुपरमादीको आईपीओ भोलिदेखि खुल्ला हुँदै

काठमाडौं । सुपरमादी हाइड्रोपावरले सोमबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ ।
स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको हो ।
आयोजनाले आफ्नो जारी पूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने छ । यसमध्ये, १० लाख ५० हजार कित्ता आईपीओ स्थानीयलाई बिक्री गरिसकेको छ ।
यस्तै, २ लाख १० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएकाहरुलाई बिक्री गरिसकेको छ । यसका साथै, कम्पनीले १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई र ४२ हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरिसकेको छ ।
वैदेशिक रोजगारीमा गएका, स्थानीय, सामूहीक लगानी कोष र कर्मचारीलाई बिक्री गरेर बाँकी बसेको १७ लाख ४३ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डमा कम्पनीले पेश गरेको विवरण पत्रअनुसार आयोजनाको प्रतिसेयर नेटवर्थ १०६.२६ रुपैयाँ छ । यस्तै, प्रतिसेयर आम्दानी ६.२८ रुपैयाँ छ भने हाल कम्पनीको सञ्चित मुनाफा ३१ करोड १५ लाख १० हजार रुपैयाँ छ ।