मनहरी–७ मा ल्होछार मेला एवम् साँस्कृतिक कार्यक्रम हुने

तु खबर संवाददाता
२०७९ माघ ३,मंगलवार १८:२३

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित बुद्धशान्ति पार्क परिसरमा अगामी माघ ८ गते सोनाम ल्होछार मेला एवम् साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ पत्रकार संघ मकवानपुर र ल्होछार मेला आयोजक मुल समारोह समितिको संयुक्त आयोजना उक्त कार्यक्रम हुने भएको हो ।

मंगलबार पत्रकार सम्मेलनमार्फत संघका अध्यक्ष जयराम मोक्तानले उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कार्यक्रममा तामाङ कलाकारहरुको गायन, नृत्य, तामाङ भेषभुषा र खानाका स्टलहरु र तामाङ संस्कृति र ल्होछार पर्वको सन्देशमुलक प्रवचन रहने संघका अध्यक्ष मोक्तानले बताए ।

कार्यक्रममा कलाकारहरु क्रमशः हरी योञ्जन, सुन्दर लामा, रविन कुमार चेपाङ, प्रकाश तामाङ र उर्मिला प्रजाले प्रस्तुती दिनेछन् ।

यस्तै, सो अवसरमा ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिने भएको छ ।

ल्होछार मेला आयोजक मुल समारोह समितिका संयोजक सुरेश मुक्तानले तामाङ जातिको संस्कार संस्कृति, भेषभुषा र भाषाको संरक्षणका लागि ल्होछार पर्व मनाउन लागिएको बताए ।

उनले ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता तथा तामाङ समुदायबीच जागरण ल्याउन उक्त कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसैगरी, तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङले तामाङ समुदाय सांस्कृतिक संघर्षकै क्रममा रहेको बताए । भाषा र भेषभुषाले राष्ट्रिय मान्यता नपाइरहेको अवस्थामा सांकृतिक पहिचानबारे उठन गर्न यस्ता कार्यक्रम जरुरी रहेको उल्लेन गरे ।