पोखरा विमान दुर्घटना : ७० जनाको शव फेला, अझै दुई जना बेपत्ता

तु खबर संवाददाता
२०७९ माघ ३, मंगलवार ०८:५७
file-photo

पोखरा । यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनाको पछिल्लो अपडेट अनुसार, ७० जनाको शव फेला परेको छ ।

सोमबार ड्रोन प्रयोग गरी थप २ जनाको शव भेटिएसँगै ७० जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कस्कीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको थियो ।

उक्त दुर्घटनामा परेर अझै २ जना बेपत्ता छन् । उनीहरुको आज पनि खोजी जारी रहने जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अजय केसीले बताए ।

उनका अनुसार, दुर्घटनामा परी सम्पर्कविहीन रहेका २ जना यात्रु खोज्न मंगलबार पनि गोताखोरसहित ४ वटा ड्रोनको प्रयोग गरिनेछ ।

आइतबार काठकाडौंबाट पोखरा जाँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।

फेला परेका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शव सनाखत र पोस्टमार्टमपछि सोमबार साँझबाट मृतकका आफन्तलाई बुझाउन थालिएको छ ।

दुर्घटनामा परी मृत्यु भएका २४ जनाको शव पोखरामै पोस्टमार्टम गरिने छ भने बाँकी ४५ जनाको आजै काठमाडौं पठाइने भएको छ ।

अपुष्ट, विदेशी एवम् पहिचान नखुलेका शव सोमबारै काठमाडौं लैजाने भनिएको थियो । त्यसका लागि काठमाडौंबाट हेलिकप्टर पनि हिजै पोखरा आइसकेको भएपनि पोखरामा भएका शवकै पोस्टमार्टम र पहिचान प्रक्रियामा ढिलाइ हुने भएकाले मंगलबार काठमाडौं पठाउन लागिएको प्रहरीले जनाएको छ ।