पोखरा विमान दुर्घटना : सनाखत भएको शव आज आफन्तलाई बुझाइने
काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आज आफन्तलाई बुझाइने भएको छ ।
सनाखत भएका शव आवश्यक प्रक्रिया पूरा गरेर आज आफन्तलाई बुझाउने भएको हो । सनाखत भएका शवहरू बिहान ९ बजेदेखि प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने तयारी गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार, सनाखत नभएका, विदेशी नागरिक एवम् काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ ।
आइतबार बिहान ७२ जना सवार यति एयरलाइन्सको विमान अन्दाजी ११ः०० बजेको समयमा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमान बिहान १०ः ३२ मिनेटको समयमा काठमाडौंबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको थियो ।
हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । केही शव दुर्घटनास्थलबाट निकाल्न कठिनाइका भएको छ भने केही फेला परेका छैनन् । आज पनि उद्धारको काम जारी छ ।
विमान दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।
