दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरको सिंतानको उपचारको क्रममा मृत्यु
मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ७ लामिटारमा बिहीबार भएको सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ७ लामिटार बस्ने अन्दाजी ४७ वर्षीय सिन्ताङ साईला भन्ने बल बहादुर सिंतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार, बिहीबार साँझ फापरबारीबाट झुरझुरेतर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ७२०७ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको हेटौंडाको चुरेहिलमा सामान्य उपचारपश्चात थप उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको थियो ।
उनको उपचारकै क्रममा आज बिहान ११ः५३ बजेको समयमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
