मकवानपुरमा दुर्घटना हुँदा बर्तौला गम्भीर घाइते

तु खबर संवाददाता
२०७९ पुष २८, बिहीबार १७:३५

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्तीमा आज सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा चितवनको खैरेनि नगरपालिका वडा नम्वर १० बस्ने ३५ वर्षीय सुकराज बर्तौला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, दिउँसो मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको ना ३ त २३६८ नम्वरको ट्याक्टर र विपरित दिशातर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००३ प ५५४२ नम्वरको स्कुटी एकापसमा ठोक्किएर दुर्घटना हुँदा बर्तौला गम्भीर घाइते भएका हुन् ।

घाइते बर्तौलालाई उपचारको लागि भरतपुरतर्फ पठाएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

ट्याक्टर चालक हाल फरार रहेपनि ट्याक्टर धनी सम्पर्कमा रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । ट्याक्टर चालकको खोजीकार्य हुनुका साथै स्कुटी र ट्याक्टरलाई नियन्त्रणमा लिई घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।