मकवानपुरमा दुर्घटनामा परेर ६ जना घाइते
मकवानपुर । मकवानपुरको तीन छुटछुट्टै स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, वडा नम्वर १९ र मनहरी गाउँपालिका–९ मा भएको सवारी दुर्घटनामा परेर ६ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
शनिबार अराह्न १६ः४५ बजेको समयमा पुर्ब–पश्चिमम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा–१९ बजारतर्फ आउँदै गरेको प्रदेश २–०३–००५ प ६६७६ नम्वरको मोटरसाइक र विपरित दिशातर्फ जाँदै गरेको बा.प्र.०३ ००५ प ५००३ नम्वरको स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ घर भई विशेष सुरक्षा गण ढल्केबर धनुषा दरबन्दी भई हाल बागमती प्रदेशको श्रमरोजगार तथा यातयात मन्त्रालयमा कार्यरत प्रहरी हवल्दार रामकृष्ण महत्तो, मोटरसाइकलमा सवार चितवनको भरतपुर महानगरपालिका–२२ पटेनी घर भएको बागमती प्रदेश मुख्य मन्त्रीको कार्यालयमा कार्यरत प्रहरी हवल्दार नेत्र बहादुर बुढाथोकी र स्कुटी चालक हेटौंडा–१९ नेवारपानी बस्ने अन्दाजी १८ वर्षीया एलिसा श्रेष्ठ रहेका छन् ।
घाइतेमध्ये स्कुटर चालक श्रेष्ठको हेटौंडाको सन्चो हस्पिटलमा उपचार भइरहेको छ भने अन्य दुई जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
यस्तै, शनिबार नै मनहरी गाउँपालिका वडा नम्वर ९ नरङ्गास्थित पुर्व–पश्चिम सडकखण्डमा मनहरीबाट हेटौंडातर्फ आउँदै ना ३५प ४९१४ नम्वरको मोटरसाइकललाई बिपरित दिशातर्फ जाँदै गरेको ना ५ ख ५४०६ नम्वरको बसले ठक्कर दिँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक हेटौंडा–१९, बस्तिपुर बस्ने अन्दाजी २३ वर्षीय बुद्धलाल बोम्जन रहेका छन् । उनको अवस्थामा मध्यम रहेको र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
यस्तै, शनिबार नै हेटौंडा–११ बाघथलीस्थित पुर्व–पश्चिम सडकखण्डमा हेटौंडाबाट नवलपुरतर्फ जाँदै गरेको साइकललाई सोही दिशाबाट जाँदै गरेको ना २३ प ५०९६ नम्वरको मोटरसाइकलले साईकललाई पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा साईकल चालक स्थानीय कल्यानटार बस्ने ४४ वर्षीय रामलाल श्रेष्ठ र मोटरसाइकल चालक हेटौंडा–११ नवलपुर बस्ने ३९ वर्षीय नबराज कुवँर रहेका छन् । दुबै घाईतेलाई उपचारको लागि चुरेहिल अस्पताल लगिएको जनाइएको छ ।
