मकवानपुरमा पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
मकवानपुर । त्रिभुवन राजपथ सडकखण्ड अन्रतगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैसेस्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहान ९ः५० बजेको समयमा भीमफेदी–२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिकै हेटौंडाबाट दामतर्फ जाँदै गरेको ना ४ च ९४१ नम्वरको पिकअप गाडी आफै अनियन्त्रित भई नालिमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बाराको बिश्रामपुर गाउँपालिका वडा नम्वर ३ बस्ने अन्दाजी २० वर्षीय राहुल कुमार पण्डित रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका राहुललाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएकोमा चिकित्सकले १०ः१२ बजे मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
यस्तै, सोही दुर्घटनामा परेर बाराको बिश्रामपुर गाउँपालिका वडा नम्वर ३ बस्ने २७ वर्षीय अजय चौरसिया, भारत झारखण्ड बस्ने ३६ वर्षीय बिजय दास, पर्साको बिरगंज माहानगरपालिका–१७ बस्ने १८ वर्षीय सुमित गुप्ता, बौदरमाई नगरपालिका–५ बस्ने २६ वर्षीय दिनानाथ प्रसाद, बाराको बिश्रामपुर गाउँपालिका– ३ मुसरहवा बस्ने १८ वर्षीय सिबजी साह, १८ वर्षीय धिरज चौरसिया, १७ वर्षीय पप्पु कुमार गुप्ता र पर्साको बौदरमाई नगरपालिका–५ बस्ने २८ वर्षीय उमेश कुस्वाह घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।
उक्त दुर्घटनामा परेर सामान्य घाईते भएका गाडी चालक हाल प्रहरीको सम्पर्कमा आएको छैन । उनी अस्पताल जान भनि हिडेका थिए ।
