नागस्वती भेट्रान्सद्वारा आय-व्यय सार्वजनिक
मकवानपुर । हेटौंडा–७ नागस्वती खेल मैदानमा गत भाद्र १८ गते देखी २२ गतेसम्म संचालन भएको प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको आय-व्यय शुक्रबार सार्वजनिक गरिएको छ ।
क्लबले शुक्रबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आय-व्यय सार्वजनिक गरेको हो । सम्मेलनमा क्लबका सचिव प्रदीप गौतमले कुल १९ लाख १५ हजार ९८८ आम्दानी र १९ लाख ९३ हजार ३५ रुपैयाको खर्च सार्वजनिक गरेका थिए ।
पत्रकार सम्मेलन क्लबका अध्यक्ष सोमबहादुर तितुङको अध्यक्षतामा भएको हो । पहिलो पटक खेल आयोजना गर्दा विभिन्न समस्याहरु तथा दुःख आई परेपनि आगामी दिनमा अझ राम्रो र स्तरीय खेल खेलाउन क्लब अग्रसर रहने अध्यक्ष तितुङले बताए । उनले स्वास्थ्यका लागि खेलकुद भन्ने नारा लिएर प्रतियोगीता गरेतापनि युवा पुस्ताका खेलाडी उत्पादन गर्न पनि क्लब लागिपरेको बताए ।
हालसम्म उठेको रकमबाट खर्च गरिएको हुदाँ आयोजकको हिसाबमा घाटामा देखिएता पनि उठ्न बाँकी ७ लाख ९३ हजार रहेको उनले बताए ।
आय-व्यय सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, क्लबका प्रथम उपाध्यक्ष विरेन्द्र खत्री, द्धितीय उपाध्यक्ष गोकुलनाथ पौडेल,कोषाध्यक्ष नवराज तितुङ,सहकोषाध्यक्ष रोहित सिलवाल, कार्यसमिति सदस्य रुपक चौलागाईलगायतको उपस्थिति रहेको थियो ।
