मकवानपुर दुर्घटना अपडेट : घाइतेमध्ये एक जनाको मृत्यु
मकवानपुर । धरान–चतरा खडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ स्थित आज बिहानै सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका चार जनामध्ये एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१८ फुर्केचौर बस्ने ३० वर्षीय बिक्रम भम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार,बिहान ७ बजेर ४५ मिनेको समयमा हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्वरलाई मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्वरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा चार जना घाइते भएका थिए ।
घाइतेमध्ये हेटौंडा अस्पतालमा उपचाररत मोटरसाइकल चालक भम्जनको बिहान ९ बजेर २१ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । मृतक भम्जनको शव हाल सोही अस्पतालमा राखिएको छ ।
उक्त दुर्घटनामा परेर घाइते भएका ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेको अन्दाजी २५ वर्षीय एक पुरुषको सोही अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालक बाराको निजगढ नगरपालिका–९ बस्ने अन्दाजी २५ वर्षीय सुर्यबहादुर घिमिरे र मोटरसाइकलमा सवार हेटौंडा– १८ फुर्केचौर बस्ने अन्दाजी ३५ वर्षीया हिरामाया लोप्चनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
