मकवानपुरमा सवारी दुर्घटना, ४ जना गम्भीर घाइते

मकवानपुर । धरान–चतरा खडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ स्थित आज बिहानै सवारी दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।
बिहान ७ बजेर ४५ मिनेको समयमा हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्वरलाई मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्वरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते हुनेमा ट्रक चालक बाराको निजगढ नगरपालिका–९ बस्ने अन्दाजी २५ वर्षीय सुर्यबहादुर घिमिरे, ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेको अन्दाजी २५ वर्षीय एक पुरुष, मोटरसाइकल चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ फुर्केचौर बस्ने अन्दाजी ३० वर्षीय बिक्रम भम्जन र मोटरासइकलमा पछाडी सवार सोही ठाउँ बस्ने अन्दाजी ३५ वर्षीया हिरामाया लोप्चन रहेका छन् ।
घाइतेमध्ये ट्रक चालक घिमिरे र मोटरसाइकलमा सवार लोप्चनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्थामा गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
यस्तै, अर्का दुई जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पनि अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।