हेटौंडा उपमहानगरपालिकाद्वारा संघ र प्रदेश सांसदको स्वागत
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा मकवानपुरबाट निर्वाचित प्रधिनिधिसभा र प्रदेशसभाका सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । उपमहानगरपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई स्वागत तथा सम्मान गरेको हो ।
सो क्रममा मकवानपुर क्षेत्र नम्वर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद महेश कुमार बर्तौलाले नगरको विकासमा सबै एक जुट भएर लाग्न आग्रह गर्दै आफुले यस क्षेत्रको विकासका लागि संघीय सरकारबाट पहल गर्ने बताए । उनले हेटौंडाको बस टर्मिनल छिटो बनाउन उपमहानगरपालिकालाई निर्देशन दिए ।
यस्तै, कार्यक्रममा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर–२ (ख) मा निर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले हेटौंडाका सडक फराकिलो बनाउनुपर्नेमा जोड दिए । उनले अहिलेपनि प्रदेशसभाका सदस्यहरु हेटौंडाको राजधानी सार्न लागि परिरहको बताउँदै यसलाई विकास गरेर महानगर बनाउनुपर्ने बताए ।
यस्तै, कार्यक्रममा एमालेबाट मकवानपुर क्षेत्र नम्वर–१ को –क) का सांसद एकालाल श्रेष्ठले हेटौंडामा तत्कालिन गर्नुपर्ने काम र दिर्घकालिन कामहरु निरन्तरता दिनुपर्ने बताए । उनले विकासका लागि दलगत स्वार्थ भन्दामाथि उठेर काम गर्नुपर्नेमा जोड दिएका थिए भने मकवानपुर क्षेत्र नम्वर–१ को (क) का सांसद प्रेमबहादुर पुलामीले विकासमा सबैले एक ढिक्का भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेशसभाको तर्फबाट एमालेका समानुपातिक सांसद भारती पाठक, कांग्रेसका समानुपातिक सांसद लक्ष्मी श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डेलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, उपमेयर राजेश कुमार बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाँई लगायतकाले सांसदहरुलाई स्वागत गर्दै मायाँको चिनो प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा हेटौंडाका उत्कृष्ट वडाको रुपमा काम गर्ने १४ नम्वर र १५ नम्वर वडालाईं सम्मान पनि गरिएको थियो ।
