प्रचण्डसँगै पौडेल, लामिछाने र श्रेष्ठले पनि शपथ ग्रहण लिने

तु खबर संवाददाता
२०७९ पुष ११, सोमबार १५:५३

काठमाडौं । नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँगै उपप्रधानमन्त्रीले पनि शपथ ग्रहण गर्ने भएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीसँगै तीन उपप्रधानमन्त्रीले सपथ ग्रहण गर्ने सहमति भएको हो ।

स्रोतका अनुसार, तीन उपप्रधानमन्त्रीमा रास्वपाका अध्यक्ष समेत रहेका रवि लामिछाने गृहसहित उपप्रधान, एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थसहित उपप्रधान र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसहित परराष्ट्रको जिम्मेवारी पाउने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको अपराह्न ४ बजे पद तथा गोपनीताको शपथ ग्रहण गर्दैछन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएकी हुन् ।

यसअघि हिजो प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कुल १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेपछि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । शपथ राष्ट्रपति कार्यालय शीतलनिवासमा केहीबेरमा हुँदैछ ।