बुस्टर खोप लगाएकालाई थप खोपको मात्रा दिने

तु खबर संवाददाता
२०७९ पुष ११, सोमबार १०:२१

काठमाडौं । नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, पहिलो र दोस्रो पूर्ण खोप लगाई बुस्टर डोज लगाएकालाई थप डोज दिने तयारी रहेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ–७ को सङ्क्रमण छिमेकी देश भारत र चीनमा बढिरहेकाले नेपालमा उक्त सङ्क्रमण भित्रिन नदिन सबैलाई बुस्टर डोज लगाउन मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले आग्रह गरेका छन्।

उनका अनुसार नेपालमा हालसम्म बीएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकाले खुला सिमाना र आवतजावतका कारण जोखिम रहेको छ ।

मन्त्रालयले मापदण्ड तोकेका ५५ वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगीलगायतलाई प्राथमिकतामा राखेर यसअघि खोपको बुस्टर मात्रा लगाएकालाई थप मात्रा दिने तयारी गरिरहेको बताइएको छ ।

अहिले दुई मात्रा लगाएकालाई दिने बुस्टर मात्रा खोपका लागि १५ लाख डोज मगाइएको र अबको दुई हप्तापछि खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।