अमेरिकामा हिम आँधीमा परेर ३८ को मृत्यु

एजेन्सी
२०७९ पुष ११,सोमबार ०९:४२

काठमाडौं । उत्तरी अमेरिकामा आएको हिम आँधीका कारण अमेरिका र क्यानडामा अहिलेसम्म कम्तिमा ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस आँधीका कारण अमेरिकामा ३४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

यो आँधीको सबैभन्दा बढी प्रभाव न्युयोर्क राज्यको बफेलो सहरमा देखिएको छ । यसैबीच, क्यानडाको मेरिट सहरमा हिउँले ढाकिएको सडकमा बस चिप्लिएर चार जनाको मृत्यु भएको छ । उत्तर अमेरिका विगत केही दिनदेखि यस आँधीको चपेटामा परेको छ । तर, विद्युत आपूर्ति सामान्य भइरहेको देखिएको छ ।

समाचार एजेन्सी एपीका अनुसार, आइतबार दिउँसोसम्म मात्रै दुई लाख मानिससम्म विद्युत आपूर्ति भइरहेको छैन । यसअघि यो संख्या १७ लाख थियो ।

यस आँधीका कारण हजारौं उडान रद्द भएका छन् । जसका कारण क्रिसमसको अवसरमा ठूलो संख्यामा मानिसहरु आफ्नो परिवारसम्म पुग्न सकेका छैनन् ।