कांग्रेस बागमती प्रदेशद्वारा संसदीय दलको निर्वाचनका लागि समिति गठन

तु खबर संवाददाता
२०७९ पुष ६,बुधबार १७:१५

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले बागमती प्रदेश संसदीय दलको नेताको निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ ।

प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा पार्टी सम्पर्क कार्यालय ललितपुरमा मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले निर्वाचन समिति गठन गरेको हो ।

बैठकले प्रदेश उप–सभापती चन्द्र महर्जनको संयोजकत्वमा ५ सदस्यीय प्रदेश संसदीय दल निर्वाचन समिति गठन गरेको छ ।

समितिको सदस्यहरूमा क्रमशः प्रदेश महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, प्रदेश सदस्य सानु श्रेष्ठ र गंगा दाहाल रहेका छन् । समितिले संसदीय दलको निर्वाचनका लागि आवश्यक प्रक्रिया अघि बढाउने छ ।

बैठकले प्रदेश सरकार गठनका लागि केन्द्रसंगको सहकार्यमा बागमती प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने वा अन्य विकल्पमा जाने बारे निर्णय लिन बागमती प्रदेश सभापति बानियाँलाई अधिकार दिने निर्णय समेत गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।