भीमफेदीको एक घरमा आगोलागी, ८ लाखको धनमाल नष्ट

तु खबर संवाददाता
२०७९ पुष १, शुक्रबार ०९:०५
file photo

मकवानपुर । मकवानपुरको भीमफेदीमा बाख्रालाई कुडो पकाउने क्रममा एक घरमा आगलागी भएको छ । जिल्लाको भीमफेदी गाउँपालिका–९ अघोर महाबिरडाँडास्थित स्थानीय अर्जुन बहादुर थिङको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, थिङको टिनको छानोले बनेको एक तल्ले कच्ची घरमा बाख्रालाई कुडो पकाउने क्रममा एक्कासी घरमा आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको सुनको तिलहरी थान १, कानमा लगाउने ढुंग्री थान १ गरी २ तोला सुन, अन्नपात, लत्ताकपडालगायतको सामानहरू र घर पुर्ण रुपमा जलेर नष्ट हुँदा ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।