चार महिनामा ३ खर्ब ७८ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । साउन, भदौ, आसोज र कात्तिकमा उक्त रकमको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकका अनुसार, आप्रवाह २०.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.८ प्रतिशतले बढेर २ अर्ब ९३ करोड पुगेको छ ।
चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले बढेको छ । यो अवधिमा १ लाख ९५हजार १९६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यो अवधिमा ४६.४ प्रतिशतले बढरे ८७ हजार ४२८ पुगेको छ ।
यस्तै, ४ महिनामा खुद ट्रान्सफर २०.२ प्रतिशतले बढेर ४१७ अर्ब ३८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।



