मध्यवर्ति क्षेत्रका जनताद्वारा खाद्य अधिकारसम्बन्धी विभिन्न माग

तु खबर संवाददाता
२०७९ मंसिर २९, बिहीबार ०८:२६

मकवानपुर । मनहरी गाउँपालिकाको वडा नं. ६ र ७ को चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा बसोबास गर्ने निकुञ्ज प्रभावित आदिवासी जनजातीहरुले खाद्य अधिकारसम्बन्धी विभिन्न माग राखेका छन् ।

निकुञ्ज प्रभावित आदिवासी जनजाती समुदायको प्रतिनिधिहरुले पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अशोक कुमार राम र सह–संरक्षण सुर्य खड्कालाई भेटेर खाद्य अधिकारसम्बन्धी विभिन्न माग राखेका हुन् ।

उनीहरुले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ (पाचौ संसोधन, दफा ५, उपदफा २) ले व्यवस्था गरे अनुरुपको अधिकार मध्यवर्ति क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाती तथा सिमान्तकृत समुदायले पाउनु पर्ने माग राखेका छन् ।

भेटमा समुदायका प्रतिनिधिले साग, सिस्नोलगायतको जङ्गली कन्दमुल संकलन तथा उपभोग गर्न, माछा मारेर जीविकोपार्जन गर्ने स्थानीय आदिवासी जनजातिहरु (बोटे, माझी, चेपाङ्ग थारू आदि) को परम्परागत पेशा व्यवसाय सुचारु गर्नका लागि माछा मार्ने अनुमति पत्र पाउनुपर्नेलगायत विभिन्न माग गरेका हुन् ।

साथै उनीहरुले अनुमति प्राप्त गरेकाहरुको अनुमति पत्र नविकरण गरिनु पर्ने, स्थनीयको घर, गोठ, पौवा आदिको निर्माण र मर्मत गर्नका लागि आवश्यक काठ दाउरा संकलन गर्न, खानेपानी तथा सिंचाईको लागि निकुञ्ज भित्रको पानीको मुहान तथा निकुञ्ज हुँदै वहने नदी, खोला, ताल÷तलैयाको प्रयोग गर्न, मानिस र चौपाया आवतजावतको लागि निकुञ्ज भित्र पर्ने बाटो विना रोकतोक प्रयोग गर्न, स्थानीय स्तरमा हुने उपभोक्ता समिति तथा समूहमा निकुञ्ज प्रभावित घरपरिवार र त्यहाँका महिलाहरुको अर्थपुर्ण सहभागिताको सुनिश्चितता, बन्यजन्तुबाट भएको कृषि बाली तथा चौपाया हानी नोक्सानीको पुर्ण क्षतिपुर्ति पाउनुपर्ने, ढुङ्गा, गिटी बालुवा चाल्न पाउनुपर्ने आदि माग राखेका थिए ।

समुदायको मागलाई निकुञ्जका प्रमुख संरक्षक अशोक रामले सकारात्मक रुपमा लिनुका साथै बुँदागत रुपमा गरिएको मागलाई सम्बोधन गर्न निकुञ्ज सदै तयार रहेको बताए ।

उक्त कार्यक्रमको सहजीकरण लक्ष्मी गुरुङ्ग र संयोजन निकुञ्ज प्रभावित खाद्य अधिकार समुहको अध्यक्ष राम बहादुर लोप्चनले गरेका थिए । कार्यक्रम मनहरी गाउँपालिकाको कार्यपालिका सदस्य कान्छीमाया बोटेलेको अगुवाईमा भएको हो ।