आज बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । यो आईपीओमा सर्वसाधारणलाई माग गरिएकोभन्दा २० गुणा बढी आवेदन परिसकेको छ ।
कम्पनीले पहिलो चरणमा मंसिर २१ गतेदेखि आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि ५ लाख ५४ हजार कित्ता शेयर निष्कासन गरेको हो ।
सर्वसाधारणमा वितरण गरिने कुल कित्ता शेयरमध्ये २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ ।
यीबाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आवेदकले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।



