धारिलो हतियार प्रहारबाट महिलाको हत्या
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ । बटेश्वर गाँउपालिका–५ शान्तिपुरकी २८ वर्षीया अमृता यादवको आज विहान हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, हतियार प्रहारपछि गम्भीर घाइते भएकी उनको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनका श्रीमान वीरेन्द्र यादवले आज बिहान करिब ४ बजेतिर तीन/चार जना नकवधारी समूह घरमा आएको र श्रीमतीको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । वीरेन्द्रलाई पनि प्रहरीले शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ ।
यसअघि वीरेन्द्रले श्रीमतीलाई कुटपिट गर्ने गरेको छिमेकीहरूले बताएका छन् । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
